संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको यस आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरूबीच सहवित्तीयकरण ऋण सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौताअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आयोजनाका लागि कुल ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी ३ अर्ब रुपैयाँ भने घलेम्ली हाइड्रो लिमिटेडसहित अन्य संस्थापकहरूको स्वपुँजी (इक्विटी) का रूपमा जुटाइएको छ। यो सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ भने प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। यसैगरी, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा जोडिएका छन्। भदौ १० को भोटेकोशी प्रलयपछि वित्तीय व्यवस्थापन भएको छुजुङ खोला सम्भवतः पहिलो जलविद्युत आयोजना रहेको उद्योगका सूत्रले जानकारी दिएका छन्।

आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ तोकिएको छ। यसमध्ये, ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋणबाट र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको इक्विटीबाट लगानी सुनिश्चित गरिएको छ। प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ, जसलाई प्रति मेगावाट लागतको हिसाबले सस्तो मानिएको छ। यो आयोजना ४ घण्टा अर्ध–जलाशययुक्त प्रकृतिको हुनेछ। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माणका लागि आवश्यक वित्तीय स्रोत पूर्ण रूपमा सुनिश्चित भएको छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) यसअघि नै भइसकेको छ। कम्पनीले गरेको सम्भाव्यता अध्ययनले आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट ऊर्जा उत्पादन हुने देखाएको छ। आयोजनास्थल याक खर्कमा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी खन्ने कार्य भइरहेको छ। आयोजनाको विद्युतगृह भूमिगत हुने गरी प्रस्ताव गरिएको छ।

आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ। त्यस्तै, सञ्चालनको नवौं वर्षमा पुग्दा वार्षिक आम्दानी बढेर करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान छ। विद्युत प्राधिकरणबाट आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउनेछ।

आयोजनाको वित्तीय विश्लेषणअनुसार, इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत हुनेछ। यी दुई वित्तीय सूचकले आयोजना आर्थिक रूपमा आकर्षक हुनुका साथै लगानीकर्तालाई राम्रो प्रतिफल दिने क्षेत्रका विश्लेषकहरूको भनाइ छ। आयोजनाको लाभ–लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। साधारण पेब्याक अवधि करिब ५.७३ वर्ष हुने प्रक्षेपण गरिएको छ।

आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ। घलेम्दीले म्याग्दीको अन्नपूर्ण नरच्याङमा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। सांग्रिला ऊर्जाले प्रवर्द्धन गर्ने यस आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण लगानी जुटेसँगै निर्माण अघि बढाउन आवश्यक वित्तीय आधार तयार भएको छ।

छुजुङ खोला जलविद्युत आयोजना संखुवासभाको भोटखोला क्षेत्रमा निर्माण हुने भएकाले, आयोजना सञ्चालनमा आएपछि यस क्षेत्रको विद्युत उत्पादनमा वृद्धि भई राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजनाको विद्युतगृहबाट ५५ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेशनमा बिजुली जोडिनेछ। यसका लागि आयोजनाले ५५ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। सांग्रिला ऊर्जाले उक्त नदी करिडोरमा निर्माण हुन लागेका आधा दर्जन जलविद्युत आयोजनाको साझेदारीमा उक्त प्रसारण लाइन बनाउन सम्झौता गरेको छ। करिडोरमा अन्य आयोजना पनि थपिने भएकाले लागत अझ कम हुने कम्पनीले जनाएको छ।

आयोजना बनाउन आवश्यक रुख कटानको काम सम्पन्न भइसकेको छ। एक रुख काटिएपछि १० रुख रोप्नुपर्ने नीतिअनुसार आयोजनाले रुख रोप्न र संरक्षण गर्न वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ प्रदान गरेको छ। हाल आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग सम्पन्न भएको छ। यस्तै, आयोजनाका लागि आवश्यक क्याम्प निर्माण पनि सकिएको छ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न बैंक तथा सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको बताएका छन्। कोइरालाले भने, “यो आयोजना समयमै, कुनै अवरोधविना सञ्चालनमा आउनुपर्छ। बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन। प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम पूरा गर्नुपर्छ।”