म्याग्दी जिल्लामा बाढी र पहिरोले जलविद्युत् आयोजनाहरूको निर्माण कार्यमा गम्भीर असर पारेको छ। यसको प्रत्यक्ष परिणामस्वरुप, २० मेगावाट क्षमताका दुई आयोजना पूर्ण रूपमा बन्द भएका छन्।

सडक मार्गमा आएको अवरोधका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी हुन नसक्दा धवलागिरि गाउँपालिकाभित्र निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित बनेका छन्। यसमा ५३.५ मेगावाटको अपर म्याग्दी–एक, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजना सामेल छन्।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ९.१४ मेगावाटको सुपर घलेम्दी जलविद्युत् आयोजनाको निर्माणस्थलमा पनि यातायात सम्पर्क टुटेको छ। नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा थुप्रिएपछि ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना गत असारको अन्तिम सातादेखि बन्द छ।

यस्तै, गत साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि ठप्प भएको छ। उक्त पहिरोमा परी एक जनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए।

अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार गत असार महिनादेखि घुमाउने (फापरखेत), बाङ्गेपहिरो, इल्पुमा पहिरो र शिवरात्रि खोलामा आएको बाढीका कारण सिमेन्ट, रडजस्ता निर्माण सामग्री तथा उपकरण बोकेका गाडीहरू आयोजनास्थलसम्म पुग्न सकेका छैनन्। उनले उपलब्ध उपकरण र मौजुदा सामग्री प्रयोग गरेर कामलाई निरन्तरता दिए पनि ढुवानीमा आएको अवरोधले अपेक्षित गतिमा काम गर्न नसकिएको बताए। शिवरात्रिखोलामा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित मोटरेबल पुल निर्माण योजनामा भएको ढिलाइले पनि बर्खायाममा सवारीसाधन वारपार गर्न समस्या भएको छ।

म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले खोलामा बाढीको सतह बढ्ने र पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्यमा असर परेको जानकारी दिए। उनका अनुसार वैकल्पिक उपाय र मौजुदा सामग्री परिचालन गरेर काम गर्नुपर्दा निर्माणको गतिमा असर परेको छ। 'डोजरको सहायताले सामान ढुवानी गर्ने गाडी तार्ने, पहिरो पन्छाउँदै सवारीसाधन पार गराउँदै गर्नुपर्ने बाध्यता छ,' उनले भने।

हाल ६० प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको र ३७ मेगावाटबाट क्षमता बढाएर ४६.२५ मेगावाट बनाउने प्रक्रियामा रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले पनि बाढीपहिरोका कारण निर्माण कार्यमा असर परेको जनाएको छ।

दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बेनी–दरबाङका साथै दरबाङ–धारापानी–ताकम–मुना सडकमा पर्ने थापाचौर, गौथली र दाचौर भिरमा खसेको पहिरोले निर्माण सामग्री ढुवानीमा समस्या भएको बताए।