इष्टर्न हाइड्रोपावर लिमिटेडले ८७.१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्तावसहित आफ्नो दशौँ वार्षिक साधारण सभा असोज २९ गतेका लागि आह्वान गरेको छ। काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा बिहान ११ बजे सभा बस्ने कम्पनीले जनाएको छ।
सभामा मुख्यगरी आर्थिक वर्ष २०८२/८३ को वार्षिक, लेखापरीक्षण तथा वित्तीय प्रतिवेदनहरू पारित गरिनेछ। कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावलाई पनि अनुमोदन गराउने तयारी गरेको छ।
विशेष प्रस्तावहरूमध्ये कम्पनीले १ः०.८७१ अनुपातमा अर्थात् ८७.१% हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ। यसबाहेक, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन हुने भएकाले त्यससम्बन्धी प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि विशेष एजेन्डाका रूपमा सभामा पेश गरिनेछ।
साधारण सभामा भाग लिनका लागि कम्पनीले असोज २१ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसको अर्थ, असोज २० गतेसम्म धितोपत्र कारोबार गरी कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन्।





