म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले प्रवर्द्धन गरेको यो आयोजना अब विद्युत् उत्पादनको तयारीमा जुटेको छ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दिएको जानकारीअनुसार, बाँध, डिसेन्डर, मुख्य सुरुङ र स्विचयार्डको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ। २० मेगावाटको एउटा युनिटको परीक्षण पूरा भएपछि अर्को युनिटको परीक्षण पनि थालिएको छ। आयोजनाले आगामी एक सातादेखि १० दिनभित्र सबै परीक्षण सकेर विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।

उत्पादित बिजुली २२० केभी दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ। यसअघि कोरोना महामारी, बाढी–पहिरो र निर्माण सामग्रीको अभावले आयोजनाको काममा ढिलाइ भएको थियो।

राहुघाट आयोजना निर्माणका लागि भारतीय कम्पनी जयप्रकाश एसोसियट्ससँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो। लामो समयदेखि प्रतीक्षा गरिएको यो आयोजना सम्पन्न भएसँगै म्याग्दीमा जलविद्युत् विकासले थप गति लिने अपेक्षा गरिएको छ।