चिरख्वा हाइड्रोपावर लिमिटेडको ३० लाख ७०० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ। कम्पनीका अनुसार, संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको उक्त सेयरको तीन वर्षे लकइन अवधि २०८३ कात्तिक १४ गते (सन् २०२६ अक्टोबर ३१) देखि खुल्नेछ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार, कम्पनीले लकइन अवधि समाप्त हुन लागेको यस सेयरको विस्तृत विवरण सार्वजनिक गरेको हो।
खुला हुने सेयरमध्ये संस्थापक समूहको २८ लाख कित्ता छ भने आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको २ लाख ४ हजार ७०० कित्ता रहेको छ। त्यसैगरी, कर्मचारीको स्वामित्वमा रहेको १६ हजार कित्ता सेयर पनि अब कारोबारका लागि उपलब्ध हुनेछ।
कम्पनीले सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिदेखि नै तीन वर्षका लागि यी सेयरहरू लकइनमा राखिएको जानकारी दिएको छ। यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीका हकमा भने नियमानुसार सेयर रोक्का रहने व्यवस्था यथावत् रहने कम्पनीले स्पष्ट पारेको छ।





