जलविद्युत् क्षेत्रमा सक्रिय एबीपी इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
आईपीओ निष्कासन र व्यवस्थापनसम्बन्धी सम्झौता २०८३ असोज ९ गते सम्पन्न भएको हो। सम्झौतापत्रमा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै अब कम्पनीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापनका सबै प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था र सम्बन्धित निकायको स्वीकृतिअनुसार अघि बढ्नेछ।
एबीपी इनर्जीले हाल नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। तादी खोलाको पानी उपयोग गरी निर्माण भइरहेको यो आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको हो।
आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ अनुमान गरिएको कम्पनीले जानकारी दिएको छ। २०८४ वैशाख मसान्तभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य आयोजनाले लिएको छ। कुल लागत १ अर्ब ६४ करोड रुपैयाँमध्ये सिद्धार्थ बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरिसकेको छ। हाल आयोजनाको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी पुगेको कम्पनीले जनाएको छ।
कम्पनीको सञ्चालक समितिमा जलविद्युत् क्षेत्रमा लामो अनुभव भएका पूर्णलाल श्रेष्ठ र बलराम खतीवडा रहेका छन्। त्यस्तै, एफवान सफ्ट इन्टरनेसनल र इसेवाका संस्थापक, नेपाली प्राविधिक उद्यमी अजगर अली पनि सञ्चालक समूहमा समावेश छन्।





