सिद्धार्थ बैंक लिमिटेड (SBL) को प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज १५ गते, बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि भोलि, असोज १६ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ।
यसको अर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्रै बैंकको २५औँ वार्षिक साधारण सभामा सहभागी हुन र घोषणा गरिएका लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले असोज २८ गते बुधबार बिहान ९ बजे काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। योसँगै, अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीहरूका लागि १३६ दिनको समानुपातिक अवधिका लागि ८.२५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य एजेन्डाहरूमाथि पनि छलफल भई पारित गरिने बैंकले जनाएको छ।





