तीन वर्षपछि फेरि नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा सुनको असर्फी बिक्री गर्ने भएको छ।
केन्द्रीय बैंकले यसपालिको तिहारका अवसरमा राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गरिने जानकारी गराएको छ।
कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महाशाखाबाट सुनको असर्फी तथा चाँदीको मेडालियन किन्न मिल्ने छ।
प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १–१ थान (बढीमा २ थान मात्र) बिक्री गरिने निर्णय राष्ट्र बैंकले जनाएको छ।
असर्फी र मेडालियन खरिदका लागि नेपाली नागरिक वा राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।





