सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको ३९७औँ सञ्चालक समिति बैठकले भदौ १ गते (सोमबार) यो निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहनेछ। बैंकले ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा चुक्तापुँजीका आधारमा यो लाभांश वितरणको तयारी गरेको हो।
४ प्रतिशत बोनस शेयरका लागि बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको शेयर छुट्याएको छ। यसैगरी, ६.५२६३ प्रतिशत नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ विनियोजन गरिएको बैंकले जनाएको छ। यो नगद लाभांशमा बोनस शेयर र नगद लाभांश दुवैमा लाग्ने करसमेत समावेश गरिएको छ। समग्रमा, बैंकले बोनस र नगद लाभांश गरी कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
सञ्चालक समितिले गरेको यो लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरलगानीकर्ताको हातमा पुग्नेछ।





