सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारणसभा असोज २२ गतेका लागि डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। यसमा हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।
बोनस शेयर वितरणपछि बैंकको चुक्तापुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५.७५ रुपैयाँ पुग्नेछ। यसका लागि आवश्यक प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
त्यस्तै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदलको निर्देशन आएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ। अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमाथि पनि सभामा छलफल हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, असोज ८ गतेभन्दा अघिसम्म शेयरधनीका रूपमा कायम हुनेहरूले मात्रै प्रस्तावित लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन्।




