राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षे अवधिको ‘आबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र आज (असोज २९ गते) देखि निष्कासन गर्न सुरु गरेको छ। सरकारी स्वामित्वको यस बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बजारमा ल्याएको हो।

यो ऋणपत्र प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरमा बिक्री गरिनेछ। बैंकले यसअन्तर्गत कुल ३० लाख इकाइ निष्कासन गर्ने तयारी गरेको छ।

निष्कासित कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि खुला गरिएको छ।

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषहरुलाई सुरक्षित राखिएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस ७ वर्षे ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। ऋणपत्रको बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटलले काम गरिरहेको छ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन पाउनेछन्। यसबाहेक, सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत घरैबाट समेत आवेदन दिने व्यवस्था मिलाइएको छ।

ऋणपत्र निष्कासन छिटोमा कात्तिक १० गतेसम्म र ढिलोमा कात्तिक १२ गते बैंकिङ समयपश्चात् बन्द हुनेछ।