बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढिरहँदा त्यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब रुपैयाँको निक्षेप संकलन आह्वान गरेको छ। केन्द्रीय बैंकले ६० दिन अवधिको यो निक्षेप ‘डिपोजिट अक्सन’ उपकरणमार्फत उठाउन लागेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तालिकाअनुसार, इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार मध्याह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल पेस गर्न सक्नेछन्।

यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलका लागि आह्वान गरिएको कुल रकम १० करोड र ५ करोड रुपैयाँ दुवैले निशेष भाग जाने गरी निर्धारण गरिएको जानकारी केन्द्रीय बैंकले दिएको छ।

रकम बाँडफाँट प्रक्रियामा भने सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई पहिलो प्राथमिकतामा राखिनेछ। आह्वान गरिएको कुल रकमसम्म क्रमशः तल्लो ब्याजदरका बोलहरूलाई स्थान दिइनेछ।

यदि एउटै ब्याजदरमा धेरै बोलहरू पर्दा कुल निष्काशित रकमभन्दा बढी हुन आएमा भने ‘प्रो-राटा बेसिस’ (समानुपातिक आधारमा) बाँडफाँड गरिनेछ।

संकलित निक्षेपको सावाँ र ब्याजको भुक्तानी कात्तिक २० गतेलाई तोकिएको छ। भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ।