नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्दै फिनटेक क्षेत्रमा नवप्रवर्तन तथा प्रतिस्पर्धा बढाउने गरी पाँचवर्षे रणनीतिक ढाँचा तयार पारेको छ। भुक्तानी प्रणाली विभागले तयार गरेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ।

यो रणनीतिले फिनटेकमैत्री नियमन, सुरक्षित डिजिटल पूर्वाधार र सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकतामा राखेको छ। यसको मुख्य उद्देश्य डिजिटल वित्तीय सेवामा आम नागरिकको पहुँच बढाउनु हो।

वित्तीय क्षेत्रमा प्रतिस्पर्धा वृद्धि, सेवाका विकल्प विस्तार, वित्तीय स्थायित्वका जोखिम न्यूनीकरण तथा प्रविधिमार्फत वित्तीय सेवाको लागत घटाउने लक्ष्य पनि रणनीतिले लिएको छ। यसका लागि पूर्वाधार विकास, नीति–नियमन तथा सुशासन र फिनटेक इकोसिस्टम विकास गरी तीन प्रमुख आधारस्तम्भ तय गरिएका छन्।

फिनटेक सेवा प्रदायकबीच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न राष्ट्र बैंकले फिनटेकमैत्री नियामकीय व्यवस्था विकास गर्ने योजना बनाएको छ। सुरक्षित र सुदृढ डिजिटल प्रणालीको विकाससँगै नयाँ डिजिटल वित्तीय उत्पादन तथा सेवा विस्तार, नवप्रवर्तनलाई सहयोग र डिजिटल वित्तीय साक्षरता बढाउने विषयलाई पनि रणनीतिले उत्तिकै जोड दिएको छ।

रणनीतिले विशेषगरी लघु, घरेलु तथा मझौला उद्यम (एमएसएमई), ग्रामीण क्षेत्रका बासिन्दा, युवा, महिला, बालबालिका र गिग अर्थतन्त्रमा आबद्ध श्रमिकलाई लक्षित समूहका रूपमा समेटेको छ। यसको सफल कार्यान्वयनबाट सुरक्षित, समावेशी, नवीन र अन्तरआबद्ध डिजिटल वित्तीय प्रणाली विकास हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ।