प्राकृतिक विपद्का कारण संकटमा परेका व्यावसायिक क्षेत्रलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले राहतको ढोका खोलेको छ। बाढीग्रस्त क्षेत्रका व्यवसायी तथा ऋणीलाई लक्षित गर्दै केन्द्रीय बैंकले ऋणको साँवा र ब्याज भुक्तानीको समयावधि थप गरिदिएको हो।
बैंक तथा वित्तीय संस्थालाई औपचारिक परिपत्र पठाउँदै केन्द्रीय बैंकले यो निर्देशन कार्यान्वयनमा ल्याउन भनेको छ। जसअनुसार अब सम्बन्धित ऋणीले असोज मसान्तभित्र चुक्ता गरिसक्नुपर्ने कर्जाको साँवा तथा ब्याज आउँदो पुस मसान्तसम्म तिर्न पाउनेछन्।
सबैलाई यो छुट भने दिइएको छैन। भोटेकोशी तथा बूढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष मारमा परेका उद्यम, परियोजना वा व्यवसायले मात्र यो सुविधाको उपयोग गर्न सक्नेछन्।
त्यस्तै, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसायहरू पनि यस दायराभित्र समेटिएका छन्।
तर सुविधा पाउन भने केही सर्त पार गर्नुपर्नेछ। ऋणीको बिक्री तथा आम्दानी, नगद प्रवाह, र जगेडामा रहेको रकम लगायतको समग्र वित्तीय अवस्थालाई आधार बनाइनेछ। आयात एवं निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गरेर मात्रै किस्ता भुक्तानीमा कठिनाइ देखिएकाहरूलाई बैंकहरूले यो सहुलियत प्रदान गर्नेछन्।





