बजारमा खुद्रा मुद्राको अभाव टार्न नेपाल राष्ट्र बैंकले दुई फरक दरका कुल ७० करोड थान नयाँ सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। यसका लागि केन्द्रीय बैंकले सोमबार २ रुपैयाँ दरका ३० करोड थान सिक्का डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिका लागि ग्लोबल टेन्डर खुला गरेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्व–योग्यता प्राप्त अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूलाई शिलबन्दी बोलपत्र पेस गर्न सूचनामार्फत आग्रह गरेको छ। यसअघि आइतबार मात्रै १ रुपैयाँ दरका ४० करोड थान सिक्का टकमरी र आपूर्तिका लागि पनि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको थियो।
केन्द्रीय बैंकका अधिकारीहरूका अनुसार, बजारमा साना दरका सिक्काको मौज्दात सन्तुलन कायम राख्ने उद्देश्यले यो प्रक्रिया दुई दिनभित्र अघि बढाइएको हो।
बैंकले प्रकाशित गरेको सूचनामा २ रुपैयाँ दरका ३० करोड थान सिक्काको आपूर्ति ‘एकल चरण, दुई खाम’ विधिमार्फत हुने स्पष्ट पारिएको छ। यो विधिअनुसार, इच्छुक कम्पनीहरूले आ–आफ्नो प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखेर पेस गर्नुपर्नेछ।
बोलपत्रसम्बन्धी कागजात खरिदका लागि इच्छुक कम्पनीहरूले आगामी २०२६ नोभेम्बर ३ सम्म २०,००० रुपैयाँ (वा १३१ अमेरिकी डलर / ११५ युरो) को गैर–फिर्तायोग्य दस्तुर तिर्नुपर्नेछ।
यससम्बन्धी ‘प्रि–बिड बैठक’ २०२६ अक्टोबर १६ मा थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा आयोजना गरिनेछ। कम्पनीहरूले २०२६ नोभेम्बर ४ को दिउँसो १२:०० बजेसम्म बोलपत्र दर्ता गराइसक्नुपर्नेछ भने सोही दिन दिउँसो १:०० बजे ती बोलपत्र खोलिने जानकारी राष्ट्र बैंकले दिएको छ।
बोलपत्रमा सहभागी हुन चाहने कम्पनीहरूले बिड सेक्युरिटी (जमानत रकम) बापत कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर (वा सो बराबरको विदेशी मुद्रा/नेपाली रुपैयाँ) राख्नुपर्नेछ। बोलपत्र खोलिएको मितिबाट १२० दिनसम्म यसको मान्यता रहनेछ भने जमानत रकम २०२७ अप्रिल ३ सम्म मान्य हुने प्रावधान राखिएको छ।





