नबिल बैंकले हालै विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्ड प्राप्त गरेको छ । युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ ।

अवार्डको महत्व

यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गरेको बैंकले जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले प्रतिष्ठित अवार्डबाट बैंक सम्मानित हुन पाउँदा खुसी लागेको बताए । उनले भने, “युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानहरूले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ ।”

नबिल बैंकको योगदान

नबिल बैंकले आफ्नो व्यावसायिक रणनीतिमा दिगोपनालाई केन्द्रमा राख्दै वातावरणीय तथा सामाजिक प्रभाव सिर्जना गर्ने विभिन्न पहलहरूलाई निरन्तर अघि बढाउँदै आएको छ । यसबाट उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि सशक्तीकरणका लागि साना तथा मझौला उद्यमहरूलाई लक्षित वित्तीय सेवाहरू, कर्जाका विशेष योजना तथा परामर्शमूलक सेवाहरू उपलब्ध गराउन बैंकले खेलेको महत्वपूर्ण भूमिका स्पष्ट हुन आएको छ ।

विगतका वर्षहरूमा नबिल बैंकले डिजिटल बैंकिङ, ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै, दिगो बैंकिङ अभ्यास तथा वित्तीय समावेशीकरणका क्षेत्रमा निरन्तर लगानी गर्दै बैंकिङ क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ । बैंक आफ्नो सेवामार्फत ग्राहक, समुदाय, शेयरधनी तथा समग्र अर्थतन्त्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्न प्रतिबद्ध रहेको छ ।

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । यस बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जालसहित ३१५ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको छ ।