कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपमा आन्तरिक राजस्व विभाग (IRD) को करदाता प्रोत्साहन कार्यक्रम सम्बन्धी सुविधा थप गरेको छ। बैंकले डिजिटल भुक्तानी र कर अनुपालन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुमारी स्मार्ट’ एपमा यो फिचर उपलब्ध गराएको हो।

यस सुविधा अनुसार व्यक्तिगत प्रयोजनका लागि १ सय रुपैयाँभन्दा बढीको खरिदमा Merchant QR मार्फत भुक्तानी गर्दा ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन्। ग्राहकले एपको ‘IRD प्रोत्साहन कार्यक्रम’ मेनुबाट योग्य कारोबार संख्या र प्राप्त पुरस्कारको विवरण हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागको व्यवस्था अनुसार दैनिक लक्की ड्र मार्फत एक जनाले कर कट्टी पछि १ लाख रुपैयाँ नगद पाउनेछन्। त्यसैगरी प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्नेछन्।

यस अभियानले नगदरहित अर्थतन्त्र निर्माण र वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने बैंकको विश्वास छ। उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्न यो योजना उपयोगी हुने देखिन्छ।

विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकका देशभर २ सय ८५ शाखा सञ्चालनमा छन्। साथै ४१ विस्तार काउन्टर, ३ सय २ एटीएम र ४० शाखारहित बैंकिङ्ग इकाइ मार्फत सेवा प्रवाह भइरहेको छ।