ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी असोज १६ गते २०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुक्रबार बिहान ९ बजे बस्ने सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ।

बैंकको हाल कायम चुक्ता पुँजीका आधारमा यो लाभांश प्रस्ताव गरिएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू अनुमोदन गर्नेछ।

यसका साथै, बैंक र यसका सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि साधारणसभामा प्रस्तुत हुनेछन्। बैंकको प्रबन्धपत्र र नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावमाथि पनि सभामा छलफल हुने जनाइएको छ।

साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्नका लागि बैंकले असोज ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, असोज २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन्।