गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले बढेको छ। खराब कर्जा व्यवस्थापनमा आएको सुधार, प्रोभिजनिङ खर्चमा भएको कमी तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानीमा भएको वृद्धिका कारण नाफामा यस्तो सुधार देखिएको हो।
अपरिष्कृत वित्तीय विवरणअनुसार, १६ वटा विकास बैंकले कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उनीहरूको नाफा ५ अर्ब ६७ करोड रुपैयाँ मात्रै थियो।
यद्यपि, समस्याग्रस्त घोषित भई नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको विवरण भने यस आँकडामा समावेश गरिएको छैन।
समीक्षा अवधिमा गरिमा विकास बैंक १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाउँदै शीर्ष स्थानमा रह्यो। मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड नाफा जोड्दा साइन रेसुङ्गा र ज्योति विकास बैंकले पनि १ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।

राष्ट्रियस्तरका आठ विकास बैंकले मात्रै ८ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ। यसबीच, नारायणी विकास बैंक भने ५ करोड ३७ लाख रुपैयाँ घाटामा जाँदै नाफा कमाउन नसक्ने एक मात्र बैंक बनेको छ।
खुद नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकहरूको कुल वितरणयोग्य नाफा भने ५ अर्ब ६७ करोड रुपैयाँमा सीमित हुन पुगेको छ। उठाउन बाँकी ब्याज वृद्धि हुनुका साथै कर्जा जोखिम र गैरबैंकिङ सम्पत्तिको नियामकीय व्यवस्थापनमा थप रकम छुट्याउनुपर्दा वितरणयोग्य नाफा प्रभावित भएको हो।
वितरणयोग्य नाफामा पनि गरिमा विकास बैंक १ अर्ब २१ करोड रुपैयाँसहित अगाडि छ। मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा ६७ करोड रुपैयाँमा सीमित भएको छ भने कर्पोरेट, सालपा, सिन्धु र नारायणी विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ।
आर्थिक गतिविधिमा आएको सुस्तता र ऋण नतिर्ने अभियानका कारण कर्जा असुली प्रभावित भएको बैंकहरूले जनाएका छन्। जेनजी आन्दोलनका कारण वित्तीय अवस्थामा थप दबाब परेको उनीहरूको भनाइ छ।
राजनीतिक अस्थिरता र वित्तीय बजारको तीव्र प्रतिस्पर्धाले सञ्चालनमा चुनौती थपेको बैंकहरूको व्यवस्थापकीय विश्लेषणले देखाउँछ।





