नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम मौका रहेको छ। कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरले प्रस्ताव गरेको लाभांश पाउन तथा तिनका साधारण सभामा भाग लिन आजै शेयरधनी कायम हुनुपर्छ।
यी कम्पनीहरूले साधारण सभा र लाभांश वितरणका लागि आगामी असोज १९ गते सोमबार बुकक्लोज गर्दैछन्। त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश पाउनेछन् र सभामा सहभागी हुन योग्य मानिनेछन्।
कुमारी बैंक लिमिटेडले २.१०५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ। बैंकले असोज २८ गते काठमाडौँको नक्सालस्थित सिल्भर ओक ब्याङ्क्वेटमा साधारण सभा बोलाएको छ।
सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले भने ३.८ प्रतिशत बोनस शेयरका साथै ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको साधारण सभा असोज २८ गते काठमाडौँको कालिकास्थानस्थित अमृतभोगमा बस्ने तय भएको छ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभा असोज २९ गते धुम्बााराहीस्थित होटेल स्मार्ट दरबारमा हुनेछ।
यता, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ५.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीले असोज ३० गते काठमाडौँको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा साधारण सभा गर्ने जनाएको छ।





