सोमबार स्थगित भएको सेयर बजारको नियमित कारोबार आज मंगलबारदेखि पुनः सुरु भएको छ। ७२ वटा ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गरिरहेको डाटा हब प्रालिको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार खुलाउने निर्णय गरेको हो।

असोज ४ को बिहानैदेखि डाटा हबको पूर्वाधारमा समस्या देखिएको थियो। यसले गर्दा अधिकांश ब्रोकरहरूको टीएमएस प्रणालीमा पहुँच अवरुद्ध भयो। प्राविधिक टोली समस्या सुल्झाउन खटिए पनि सोमबारसम्म पूर्ण रूपमा प्रणाली सञ्चालनमा आउन सकेन। यही कारण नेप्सेले जोखिम नलिने भन्दै असोज ५ गतेका लागि तय भएको नियमित कारोबार स्थगित गरेको थियो।

डाटा हबको यो समस्या सामान्य प्राविधिक खराबी मात्र नभई 'र्‍यान्समवेयर' आक्रमणसँग जोडिएको विभिन्न स्रोतहरूले जनाएका छन्। यस घटनाले ७२ वटा ब्रोकर कम्पनीका टीएमएस प्रणालीका साथै त्यससँग जोडिएका अन्य प्रणालीहरूमा समेत असर पुर्‍याएको थियो।

७२ वटा ब्रोकरका प्रणालीमा असर पुगेपछि सोमबार बजार नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समस्या समाधान नभई कारोबार चलाउँदा नेप्सेको समग्र कारोबार प्रणालीमा थप क्षति पुग्न सक्ने चेतावनी दिँदै तत्काल कारोबार रोक्न आग्रह गरेको थियो। एसोसिएसनको यही आग्रहपछि नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) अनुसार सोमबारको कारोबार स्थगित गरेको हो।

एक दिनको अवरोधपछि बजार पुनः सञ्चालनमा आए पनि यो घटनाले नेपालको पुँजी बजारको प्राविधिक पूर्वाधार, साइबर सुरक्षा र वैकल्पिक प्रणालीको तयारीमाथि गम्भीर प्रश्न उठाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यस घटनालाई अत्यन्तै गम्भीरतापूर्वक लिएको छ। भविष्यमा यस्ता समस्या दोहोरिन नदिन के-कस्तो सुधार आवश्यक पर्छ भन्नेबारे अध्ययन तथा जाँचबुझ गरी असोज १२ गतेभित्र प्रतिवेदन बुझाउन सेबोनले नेप्सेलाई निर्देशन दिएको छ।

घटनाको यथार्थ कारण पत्ता लगाउन सेबोनले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली पनि परिचालन गरिसकेको छ। उक्त टोलीले दिने सुझावका आधारमा पुँजी बजारको कारोबार प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता बोर्डले जनाएको छ।