सिद्धार्थ क्यापिटलले व्यवस्थापन गरिरहेका दुई म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि नगद लाभांश घोषणा गरेका छन्। क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई लाभांश दिने निर्णय गरेको हो।

यसअनुसार, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीले ८ प्रतिशत नगद लाभांश पाउनेछन्। यो ९ करोड ६० लाख रुपैयाँ बराबरको रकम हो।

उता, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीका लागि भने १० प्रतिशत नगद लाभांश तोकिएको छ। यसबापत ८ करोड ५ लाख ८० हजार रुपैयाँ वितरण हुनेछ। यी दुवै योजनाले घोषणा गरेको नगद लाभांशमा करसमेत समावेश रहेको क्यापिटलले जनाएको छ।

प्रस्तावित लाभांश वितरणका लागि बुक क्लोजको मिति भने क्यापिटलले पछि प्रकाशन गर्ने जानकारी दिएको छ।