सिद्धार्थ बैंक लिमिटेडले आजदेखि कुल ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले यसका लागि औपचारिक प्रक्रिया सुरु गरिसकेको छ।
बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता भने बैंकका हालका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्। उनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
यता, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयरमा भने सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन्। बैंकले सर्वसाधारणलाई पनि सूचना प्रकाशित भएको ३५ दिनभित्रै आवेदन बुझाउन आग्रह गरेको छ।
तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको सेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनी वा सर्वसाधारण जो कोहीले पनि आफूले किन्न चाहेको सेयर संख्या स्पष्ट उल्लेख गरी काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ। बैंकले इच्छुक लगानीकर्तालाई तोकिएको समयभित्रै आवेदन दिन आग्रह गरेको छ।





