नेपाली पुँजी बजारमा लगातारको गिरावटले गर्दा लगानीकर्ताहरूको धैर्यताको बाँध टुट्ने स्थितिमा पुगेको छ। नयाँ सरकार गठन भएको लामो समय बितिसक्दा पनि बजारले गति लिन नसकेको भन्दै शेयरधनी संघले अहिले सरकार र नियामक निकायहरूलाई तत्काल सुधारका कदम चाल्न आग्रह गरेको छ। यस आग्रहलाई संघले चेतावनीका रूपमा प्रस्तुत गरेको छ।

संघले जारी गरेको विज्ञप्ति अनुसार, नयाँ सरकार आएपछि नेप्से परिसूचक २९५० अंकबाट झरेर २५७० विन्दुमा ओर्लिएको छ। यो अवधिमा सर्वसाधारण लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँभन्दा बढी पूँजी गुमाइसकेका छन्। यो रकम त देशको कुल वार्षिक बजेटको २७ प्रतिशतभन्दा पनि बढी हो भन्ने दाबी छ। लगानीकर्ताहरूमा अहिले देखिएको चरम निराशालाई मध्यनजर गर्दै, अर्थमन्त्रीलाई सम्बन्धित सरोकारवालासँग तत्कालै छलफल आयोजना गरी ठोस कार्ययोजनासहित समाधानका उपायहरू खोज्न संघले विशेष अनुरोध गरेको छ।

पुँजी बजारमा तत्कालै नीतिगत सुधारको खाँचो

पुँजी बजारप्रति लगानीकर्ताको विश्वास पुनः जगाउन तत्कालै नीतिगत सुधारहरू आवश्यक रहेको संघको जोड छ। विशेष गरी, आउँदो साउन १ गतेदेखि नयाँ करका दरहरू लागू गर्ने तयारी भइरहेकाले, बजारलाई जोगाउने खालका उपायहरू पनि सोही दिनदेखि नै लागू गरिनुपर्ने उनीहरूको मुख्य माग छ। यसका लागि केही ठोस मागहरू अघि सारिएका छन्। संस्थागत लगानीकर्ताहरूलाई दोस्रो बजारमा सहजै लगानी गर्ने वातावरण बनाइनुपर्छ। साथै, गैर-आवासीय नेपाली नागरिकहरूलाई पनि दोस्रो बजारमा प्रवेश गराउने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ।

शेयर बजारमा नेपाली लगानीकर्ताको भरोसा टुट्न दिनु हुँदैन भन्दै संघका अध्यक्ष घनश्याम पाण्डेले अर्थमन्त्री, धितोपत्र बोर्ड र अन्य नियामक निकायहरूले तत्कालै ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। सरकार र नियामक निकायले अहिलेको यो समस्यालाई समयमै सम्बोधन नगरे लगानीकर्ताको धैर्यताले सीमा नाघ्ने र आफूहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी उनले दिए। यसैबीच, लगानीकर्ताहरूकै अर्को एउटा समूह पनि शेयर बजार सुधारको कामलाई द्रुत गति दिनुपर्ने माग लिएर धितोपत्र बोर्ड पुगेको समाचार प्राप्त भएको छ।