नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) लाई तीन कार्यदिनका लागि निलम्बन गरेपछि शेयर बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ। समयमै राफसाफ तथा फर्छ्योट नगरेको भन्दै गरिएको निलम्बनले हजारौँ लगानीकर्ता प्रभावित भएको संघको भनाइ छ।

ग्राहकको रकम र शेयर सुरक्षाबारे कुनै स्पष्ट व्यवस्था नहुँदै हतारमा यस्तो निर्णय लिइएको भन्दै संघले नियामक निकायको प्रक्रियामाथि नै प्रश्न उठाएको छ।

संघले तत्काल ग्राहकको कारोबार सुचारु गर्न वा वैकल्पिक व्यवस्था मिलाउन माग गरेको छ। ब्रोकरको गल्तीमा सम्बन्धित पक्षलाई मात्र कारबाही गर्नुपर्ने र ग्राहकको रकम तथा शेयर सुरक्षाबारे नेप्से र सीडीएससीले स्पष्ट जानकारी दिनुपर्नेमा पनि संघले जोड दिएको छ।

‘सम्बन्धित ब्रोकरका ग्राहकहरूको कारोबार तत्काल सुचारु गरियोस् वा वैकल्पिक कारोबारको व्यवस्था मिलाइयोस्,’ संघले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘त्रुटि गर्ने ब्रोकर र पदाधिकारीमाथि मात्र लक्षित गरी स्वतन्त्र अनुसन्धान र कडा कारबाही गरियोस्। निलम्बन अवधिमा ग्राहकको रकम र शेयरको सुरक्षाबारे नेप्से र सीडीएससीले तत्काल आधिकारिक जानकारी सार्वजनिक गरोस्।’

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन ‘ग्राहक खाता’ छुट्टै राख्ने कडा व्यवस्था, तत्काल ब्रोकर स्थानान्तरण संयन्त्र र क्षतिपूर्ति कोषको प्रभावकारी परिचालन गर्न समेत संघले माग गरेको छ।