कास्कीको रुपा–६ मा अवस्थित रुपाकोट रिसोर्टले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि रिसोर्टले एनआईसी एसिया क्यापिटललाई धितोपत्र बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
अब एनआईसी एसिया क्यापिटलले रुपाकोट रिसोर्टलाई आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ। यससम्बन्धी दुई पक्षीय सम्झौता हालै सम्पन्न भएको हो।
नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा रुपाकोट रिसोर्टले आफूलाई एक आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ। यसको प्रमुख विशेषतामा प्राकृतिक सौन्दर्य, शान्त एवं रमणीय वातावरण, हिमाली शृंखलाको मनोरम दृश्यका साथै रुपा र बेगनास तालको मनमोहक दृश्यावलोकन गर्न सकिने विशेष भौगोलिक अवस्थिति पर्दछन्।

पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने रिसोर्टको मुख्य उद्देश्य रहेको छ। यही लक्ष्यका साथ रिसोर्टले आफ्नो सेवा निरन्तर विस्तार गरिरहेको छ।
पछिल्लो समय रुपाकोट रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीच सन्तुलन कायम गर्दै पाहुनाहरूलाई आरामदायी तथा अविस्मरणीय आतिथ्य अनुभव प्रदान गरिरहेको छ। रिसोर्टमा उपलब्ध आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारले यसलाई पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सफल भएको छ।
एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवाअन्तर्गत प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासनसम्मका लागि आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ।





