पोखरा फाइनान्स लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मर्जरका कारण लामो समयदेखि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार खुला गरेको हो।

साबिकको पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ अनुपातमा मर्जर सम्पन्न भएपछि पोखरा फाइनान्सको नाममा कायम भएको कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको छ।

नेप्सेले दिएको जानकारीअनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्य रहेको यो सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कारोबारका लागि सूचीकृत भएको हो। मर्जर प्रयोजनका लागि रोक्का राखिएको कम्पनीको सेयर कारोबार पनि यसै निर्णयसँगै फुकुवा भएको नेप्सेले स्पष्ट पारेको छ।

मर्जर प्रक्रियापछि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सूचीकरण खारेज गरिएको छ। सो कम्पनीको ८१ लाख ८९ हजार ११४ कित्ता सेयर अब पोखरा फाइनान्सको नाममा अभिलेख गरिएको छ। यससँगै, पोखरा फाइनान्सको कुल सेयर संख्या १ करोड ९० लाख १४ हजार ६८० कित्ता पुगेको छ।