नेपालको दोस्रो बजारमा शेयर खरिदका लागि लगानीकर्तालाई मार्जिन कर्जा सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीहरूको संख्या २० पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले औपचारिक स्वीकृति दिएपछि यी ब्रोकरहरूले आफ्ना ग्राहकलाई कारोबार प्रणाली मार्फत नै यो सेवा प्रवाह गर्न थालेका हुन्।

नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा ल्याएपछि ब्रोकरहरूले वाणिज्य बैंकहरूबाट थोक कर्जा लिएर तथा आन्तरिक पूँजी परिचालन गरी लगानीकर्तालाई कर्जा दिन थालेका हुन्। हाल सञ्चालनमा रहेका २० ब्रोकर कम्पनीहरूको वित्तीय स्रोत, बैंक कर्जा रेटिङ र आन्तरिक पूँजी क्षमताको विश्लेषण गर्दा दोस्रो बजारमा प्रवाह हुन सक्ने सम्भावित मार्जिन कर्जाको कुल आकार करिब २३ अर्ब रुपैयाँ पुगेको देखिन्छ।

ब्रोकरहरूको मार्जिन कर्जा क्षमतालाई मुख्यतया दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ। पहिलो समूहमा क्रेडिट रेटिङ सम्पन्न भएका १४ ब्रोकर पर्दछन् जसको कुल रेटिङ रकम २० अर्ब रुपैयाँ छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ५० करोड रुपैयाँ वा सोभन्दा बढी कर्जा लिनुपर्दा अनिवार्य क्रेडिट रेटिङ गराउनुपर्छ। यस अन्तर्गत १४ ब्रोकर कम्पनीले केयर रेटिङ्स नेपालमार्फत १ अर्बदेखि ३ अर्ब रुपैयाँसम्मको बैंक कर्जा सीमा रेटिङ गराएका छन्। यसमा नासा सेक्युरिटिज एक्लैको ३ अर्ब, दक्षिणकाली, कोहिनुर र आर्यताराको २/२ अर्ब, भिजन र त्रिशक्तिको १.५/१.५ अर्ब तथा अन्य ८ ब्रोकरको १/१ अर्ब रुपैयाँको सीमा रहेको छ।

दोस्रो समूहमा ५० करोड रुपैयाँभन्दा कमको कर्जा सीमाका लागि सार्वजनिक रेटिङ अनिवार्य नभएका ६ ब्रोकर पर्दछन्। यी ब्रोकरहरू हुन् ब्रिलियन्ट, दिपशिखा, अनलाइन, आकाशभैरव, एसपीएसए र केबीएल। यी ६ कम्पनीले औसत ५० करोड रुपैयाँका दरले कर्जा वा आन्तरिक पूँजी परिचालन गर्न सक्ने अनुमान गर्दा थप ३ अर्ब रुपैयाँको सम्भावित क्षमता देखिन्छ।