बजारमा नयाँ सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ल्याउने क्रममा आज असोज ७ गतेदेखि ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’को इकाइ निष्काशन भएको छ। एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा आउने यो योजनाको व्यवस्थापन एनआईसी एसिया क्यापिटलले सम्हालेको छ।

प्रति इकाइ १० रुपैयाँ अंकित दर तोकिएको यस योजनामार्फत कुल ८ करोड इकाइ बजारमा ल्याइएको छ। यसमध्ये कोष प्रवर्द्धक एनआईसी एसिया बैंकका लागि बीज पुँजी (सिड क्यापिटल) को रूपमा १ करोड २० लाख इकाइ सुरक्षित गरिएको विवरण छ।

सर्वसाधारण लगानीकर्ताले भने बाँकी ६ करोड ८० लाख इकाइमा आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताका लागि आवेदन दिन न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड इकाइको सीमा तोकिएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा आबद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत यसमा लगानी गर्न सकिने प्रबन्ध मिलाइएको छ।

निष्काशन गरिएको इकाइमा लगानी गर्न चाहनेहरूले छिटोमा असोज १३ गते र ढिलोमा असोज २१ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।