अर्थमन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेलगत्तै पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा उछाल आएको छ। सोमबार सार्वजनिक भएको कार्ययोजनाले बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
कारोबार बन्द हुँदा नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १.८७ प्रतिशतको वृद्धि हो। बजारमा २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मात्रै घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशत अर्थात् ९.१९ अंकले उकालो लागेर ४६७.४५ विन्दुमा पुगेको छ। सेयर बजारका सबै १३ वटै उपसूचकमा हरियाली छाएको थियो।
परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब रुपैयाँ नाघेको छ। आज ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ७८ हजार ८६९ पटक खरिद बिक्री हुँदा कुल ८ अर्ब २९ करोड १७ हजार ११५ रुपैयाँको कारोबार भएको छ। परिसूचक बढेको दिन एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको बजारले जानकारी दिएको छ।




