नेपाल टेलिकमले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (स्टक ब्रोकर) सेवा प्रदायकको सूची तयार गर्न प्रस्ताव आह्वान गरेको छ। यसका लागि योग्य ब्रोकर कम्पनीहरूलाई भदौ ८ गतेदेखि १५ दिनभित्र टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गराउन समयसीमा तोकिएको छ।

प्रस्ताव पेस गर्न चाहने कम्पनीहरूका लागि टेलिकमले विभिन्न मापदण्ड तोकेको छ। कम्पनी दर्ता, नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति, न्यूनतम चुक्ता पुँजी, सकारात्मक नेट वर्किङ क्यापिटल र कर चुक्ता गरेको हुनुपर्ने ती शर्तहरूमा पर्छन्।

यसका साथै, पछिल्ला दुई आर्थिक वर्षमा औसत वार्षिक धितोपत्र कारोबार १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ। कम्तीमा दुई वर्षको ब्रोकर अनुभव र सरकारी स्वामित्वको कम्पनी वा संगठित संस्थामा कम्तीमा एक वर्ष काम गरेको अनुभव पनि अनिवार्य गरिएको टेलिकमले जनाएको छ।