साधारण सभा र लाभांश वितरण प्रयोजनका निम्ति बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नबिल बैंक र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन गरेको छ। यससँगै दुवै बैंकको शेयर कारोबार अब नयाँ मूल्यमा खुल्नेछ।

नेप्सेले नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। यसपछि नबिल बैंकको प्रतिकित्ता शेयरमूल्य ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ भने गरिमा विकास बैंकको मूल्य ४१४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।

यो मूल्य समायोजन अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम मूल्यका आधारमा भएको हो। मंगलबार दोस्रो बजारमा नबिल बैंकको शेयर ५६६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने गरिमा विकास बैंकको शेयर ४५६ रुपैयाँमा किनबेच भएको थियो।

आजदेखि दोस्रो बजारमा यी समायोजित मूल्यलाई आधार मानेर दुवै बैंकको शेयर किनबेच सुरु हुनेछ।