मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्कासन गरेको दोस्रो म्युचुअल फण्ड, मुक्तिनाथ म्युचुअल फण्ड २, मा आवेदन दिने म्याद असोज १५ गतेसम्म थपिएको छ। क्यापिटलले असोज १ गतेदेखि उक्त फण्डको इकाई बिक्री खुला गरेको थियो।
मागभन्दा बढी आवेदन परेमा भने तोकिएको अवधिअगावै जुनसुकै बेला सूचना प्रकाशित गरी निष्कासन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले स्पष्ट पारेको छ।
प्रतिइकाई १० रुपैयाँका दरले कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई क्यापिटलले बिक्रीमा ल्याएको हो। यसमध्ये कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि कुल बिक्री भएको इकाई सङ्ख्याको १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई छुट्याइएको छ। त्यसैगरी, योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका लागि २० लाख इकाई सुरक्षित गरिएको छ। सर्वसाधारणले भने बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सीमा १ करोड इकाई तोकिएको छ।
मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डमा कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा मात्र इकाई बाँडफाँट प्रक्रिया अघि बढ्नेछ। तोकिएको न्यूनतम इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने प्रावधान छ।




