मुक्तिनाथ क्यापिटल लिमिटेडले आज (असोज १ गते) देखि आफ्नो दोस्रो म्युचुअल फण्ड, 'मुक्तिनाथ म्युचुअल फण्ड २' को सार्वजनिक निष्काशन सुरु गरेको छ। यससँगै क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको छ।

प्रस्तावित कुल इकाईमध्ये १ करोड ३० लाख इकाई, अर्थात् कुल बिक्रीको १३ प्रतिशत, कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि छुट्याइएको छ। योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडले पनि २० लाख इकाई सुरक्षित गरेको छ। यसरी बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि बिक्री गरिने जनाइएको छ।

लगानीकर्ताले यस फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सक्नेछन्। अधिकतम सीमा भने १ करोड इकाई तोकिएको छ।

प्रारम्भिक चरणमा असोज ६ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको समयमा पर्याप्त आवेदन नपरेको खण्डमा असोज १५ गतेसम्म म्याद थपिने व्यवस्था मिलाइएको छ। कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाईका लागि खरिद निवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँट प्रक्रिया अघि बढ्नेछ। यदि न्यूनतम संख्यामा इकाई बिक्री हुन नसके, योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ।

१० वर्ष अवधिको यो बन्दमुखी योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक स्वयं मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ। धितोपत्र बोर्डबाट 'आस्वा' अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाका साथै 'मेरो शेयर' वेब र मोबाइल एपमार्फत पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।