गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) ले यस वर्ष वितरण गर्ने लाभांश सुरक्षित गर्ने आज (असोज २७ गते, मंगलबार) अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्नो साधारण सभा तथा लाभांश वितरणका लागि भोलि असोज २८ गते बुकक्लोज गर्ने जनाएको छ। यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै कम्पनीको ११औँ वार्षिक साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

लघुवित्तले कात्तिक १० गते मंगलबारका लागि एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। धनकुटाको हिलेस्थित कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेबाट सभा सुरु हुनेछ।

यसपटक सभाले शेयरधनीका लागि चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेन्डाहरू पनि सभाको कार्यसूचीमा समावेश छन्।