बडादसैंअन्तर्गत नवरात्रको आज तेस्रो दिन। घर–घरमा विधिपूर्वक माता चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै छ। दुर्गा भवानीका नौवटा शक्तिका चरणमध्ये चन्द्रघण्टालाई तेस्रो शक्तिका रूपमा पुज्ने शास्त्रीय परम्परा छ।
देवीको शीरमा घण्टाकै आकारमा अर्धचन्द्र शोभायमान हुने हुनाले उनलाई 'चन्द्रघण्टा' भनिएको धार्मिक विश्वास छ। सिंहलाई बाहन बनाउने यी देवीलाई शान्ति र प्रचुर शक्तिको प्रतीकका रूपमा लिइन्छ। श्रीमददेवीभागवत लगायतका पुराण तथा ग्रन्थहरूमा क्रोध र हिंसाजस्ता अमानवीय एवं आसुरी प्रवृत्तिको विनाश गर्न तथा सज्जनहरूको रक्षाका लागि उनी यस लोकमा अवतरण भएको प्रसंग पाइन्छ।
माता चन्द्रघण्टाको यही महिमालाई स्मरण गर्दै आज बिहानैदेखि मुलुकभरका देवीमन्दिर, चण्डीथान, देउराली तथा घरघरका पूजा कोठामा भक्तजनहरूको घुइँचो लागेको छ। परम्परागत विधिअनुसार देवीको पूजा र ध्यान गरिरहँदा, ग्रामीण बस्तीहरूमा समेत विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गुञ्जिरहेका छन्। देवीको योगदान र शक्तिको कथावाचन गर्ने तथा तिनलाई श्रवण गर्ने परम्परा पनि उत्तिकै सक्रिय छ।
हिन्दू धर्मावलम्बीहरूको महान पर्व बडादसैंको यो अवधि शक्तिरूपा नवदुर्गाका नौ फरक स्वरूपहरूको आराधनाका लागि समर्पित रहँदै आएको छ।





