आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको बडा दसैँ पर्वअन्तर्गत आज नवरात्रको पाँचौं दिन परेको छ। यस दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गरेका छन्। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका यी नौ दिनमा घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गर्ने परम्परा छ।
गत असोज २५ गते आइतबार नवरात्रको पहिलो दिन दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी पूजा गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ आराधना भयो। चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना सम्पन्न गरिएपश्चात आज पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गर्न लागिएको हो।
दुर्गा पक्ष समेत भनिने दसैँको क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने शास्त्रीय विधान छ। यी नौवटा दुर्गाका रूपलाई समग्रमा नवदुर्गा भनिन्छ।
दसैँको यी नवरात्रभर देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भिडभाड देख्न पाइन्छ। शक्तिपीठमा गई पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने जनविश्वास रहिआएको छ। यसरी नौ दिनसम्म विधिवत् रूपमा गरिएको पूजा आराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडा दसैँ पर्व मनाउने गर्दछन्।





