जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको प्रतिस्पर्धा बिहीबारबाट सुरु हुँदैछ। महिला क्रिकेटको स्पर्धा सकिएलगत्तै पुरुषतर्फको खेल सुरु हुन लागेको यो प्रतियोगितामा नेपालसहित १० राष्ट्रले सहभागिता जनाएका छन्।

प्रतियोगिताको वरीयता क्रमअनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सोझै क्वार्टरफाइनलमा स्थान पक्का गरे। बाँकी नेपाल, अफगानिस्तान, जापान, हङकङ, मलेसिया र ओमानले भने समूह चरण पार गर्दै क्वार्टरफाइनल यात्रा तय गर्नुपर्नेछ।

नेपाल समूह ‘ए’ मा आयोजक जापान र अफगानिस्तानसँग परेको छ। समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन्। दुवै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा उत्रने नेपाली टोलीले आफ्नो पहिलो खेल शुक्रबार (सेप्टेम्बर २५) अफगानिस्तानसँग खेल्दैछ। यो खेल जापानको कोरोगी पार्कमा स्थानीय समयअनुसार दिउँसो २ बजे सुरु हुनेछ, जुन नेपाली समयअनुसार बिहान १०ः४५ बजे हो।

त्यसपछि, नेपालले दोस्रो खेल सेप्टेम्बर २६ मा आयोजक जापानसँग खेल्नेछ। उक्त खेल जापानमा बिहान ९ बजे र नेपाली समयअनुसार बिहान ५ः४५ बजे सुरु हुने तालिका छ। समूह चरणमा कम्तीमा एक खेल जितेर शीर्ष दुईभित्र पर्न सके नेपाल क्वार्टरफाइनलमा पुग्नेछ।

क्वार्टरफाइनलमा समूह विजेता बने नेपालले श्रीलंकासँग तथा उपविजेता बने भारतसँग खेल्नेछ।

एसियाली खेलकुदमा क्रिकेट समावेश भएको यो चौथो संस्करण हो। नेपालले यसअघिका तीनवटै संस्करणमा पुरुष क्रिकेटमा सहभागिता जनाइसकेको छ। ती सबै संस्करणमा नेपाली टोली क्वार्टरफाइनलसम्म पुगे पनि त्यसभन्दा अघि बढ्न सकेको छैन, जुन यसपटकको मुख्य चुनौती देखिन्छ।

सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको एसियाडमा नेपाल क्वार्टरफाइनलमा श्रीलंकासँग दुई विकेटले पराजित भएको थियो। त्यस संस्करणमा बंगलादेशले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै स्वर्ण पदक हात पारेको थियो भने पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गरेर कांस्य पदक जितेको थियो।

यसैगरी, सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा नेपाल क्वार्टरफाइनलमा अफगानिस्तानसँग आठ रनले पराजित भयो। अफगानिस्तानलाई ६८ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको उक्त संस्करणमा बंगलादेशले हङकङलाई २७ रनले पराजित गर्दै कांस्य जितेको थियो।

यसपटक नेपाली टोली अफगानिस्तान र जापानविरुद्धका दुई समूहगत खेलबाट क्वार्टरफाइनलको यात्रा तय गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ।