देशभर यतिखेर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, देशभरको मौसम साधारणतया बदली हुनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पनि थोरै स्थानमा यस्तै अवस्था रहनेछ।
पहाडी भू-भागमा भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको प्रक्षेपण गरिएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा पनि पानी पर्नेछ।
सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। बाँकी तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङ्गसहित पानी पर्न सक्ने महाशाखाको भनाइ छ।
विशेषगरी मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका केही ठाउँमा पनि भारी वर्षा हुने महाशाखाको अनुमान छ।




