देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ।

अहिले देशभर सामान्यतया बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो पनि देशभर सामान्य बदली रहनेछ। हिमाली भू-भागका केही स्थान र पहाडी भू-भागका धेरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले औंल्याएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।