पश्चिमी वायुको आंशिक प्रभावमा हिमाली र पहाडी क्षेत्रहरू बदलीमा छन्। मौसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका अधिकांश भागमा भने आकाश सफा छ, मौसम स्थिर रहेको छ।
आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था कायम रहनेछ, तर पहाड र तराईमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बदली रहने अनुमान छ। अन्य हिमाली र पहाडी क्षेत्रहरूमा भने आकाश मुख्यतया साफा रहनेछ।
मंगलबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली छाने सम्भावना छ। देशका अन्य भागहरूमा भने मौसम साफा नै रहनेछ।
तर कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको आशंका छ। मंगलबार राति भने देशभर आंशिक बदलीको अवस्था रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने पनि महाशाखाले बताएको छ।
बुधबार देशभर सामान्यतया बदली रहने देखिन्छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यी नै प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ।
बिहीबार भने वर्षाको दायरा फैलिनेछ। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने महाशाखाको पूर्वानुमान छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने आशंका छ। लुम्बिनी प्रदेशका केही भाग र कर्णाली, सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्छ।
हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको पनि सम्भावना छ।
यसका साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।
पछिल्ला दिनहरूमा वर्षा र हिमपातको सम्भावना बढ्दै गएकाले सम्बन्धित क्षेत्रका बासिन्दा र यात्रा गर्नेहरूले मौसमको अद्यावधिक जानकारी लिनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्ने सम्बन्धित निकायले स्पष्ट पारेको छ।





