तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर काठमान्डु गोर्खाजको टोलीमा भित्रिएका छन्। गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

एनपीएलमा सहभागी हुने विदेशी खेलाडीमध्ये वार्नर हालसम्मकै सबैभन्दा ठूलो नाम हुन्। यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले वार्नरले एनपीएल खेल्ने भन्दै पोस्ट गरेको थियो, जसमा वार्नरले 'लाइक' समेत गरेका थिए।

३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि क्रिकेटका तीनवटै मुख्य प्रतियोगिता जितेका छन्। उनले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, सन् २०२१ को टी–२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिपको उपाधि उचालेका छन्।