बजारमा नयाँ गतिको ब्यान्डविथअनुसारका महसुल दरहरू बाहिरिएसँगै घरायसी इन्टरनेटको न्यूनतम लागत नै अब उक्लिने भएको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै अब उपभोक्ताले घरायसी इन्टरनेटका लागि न्यूनतम पनि मासिक रु. ९०० देखि १,१०० रुपैयाँ (करसहित) सम्म अनिवार्य खर्च गर्नुपर्नेछ।
विभिन्न गतिको स्तरांकन हेर्दा सयदेखि एक सय २० एमबीपीएसको दायरामा एभरेष्ट वायरलेसले सबैभन्दा सस्तो दर कायम गरेको छ। यसले १२० एमबीपीएसको सेवा करसहित रु. ८५७.१४ मा स्वीकृत गराएको छ। यही स्तरमा एननेट (रु. १,०१७) र स्विफ्ट नेट (रु. १,१३०) पनि किफायती नै मानिएका छन्। तर यसै कोटीमा भायोनेट (रु. १,४२५) र निम्बल नेटवर्क (रु. १,३५०) भने तुलनात्मक रूपमा महँगा देखिन्छन्।
उच्च गतिको ब्यान्डविथ अर्थात् २०० देखि ३०० एमबीपीएसको तालिका अझै भिन्न छ। एभरेष्ट वायरलेस (२०० एमबीपीएस - रु. १,०९५) र फस्टलिङ्क (२०० एमबीपीएस - रु. १,१४३) यहाँ पनि निकै सस्ता विकल्प बनेर आएका छन्। बजार हिस्सा ओगटेका ठूला कम्पनीहरूतर्फ हेर्दा वर्ल्डलिङ्कको २०० एमबीपीएस (रु. १,३४४.७०) दर सुबिसु (रु. १,४२८) र भायोनेट (रु. १,७२५) भन्दा किफायती रहेको छ। यद्यपि, यही श्रेणीमा निम्बल नेटवर्क (रु. १,९००) र भायोनेट (रु. २,०७५ सम्म) भने महँगा साबित भएका छन्।
मूल्यमा पारदर्शिता कायम गर्न र गैरकानुनी असुली रोक्न इस्पानले सम्पूर्ण ग्राहकहरूलाई भुक्तानी गर्दा अनिवार्य रूपमा भ्याट (VAT) बिल लिन आग्रह गरेको छ। भोलिदेखि उपभोक्ताले आफूले प्रयोग गर्ने सेवा प्रदायकको आधिकारिक वेबसाइटमा गएर स्वीकृत दर यकिन गरी प्याकेज नवीकरण वा नयाँ जडान गर्नुपर्नेछ।





