दसैँको चौथो दिन आज देशभरका दसैँघर र पूजाकोठाहरूमा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। घटस्थापना गरेयताका दिनहरूमा देवीका विभिन्न स्वरूपको क्रमिक पूजा गर्ने परम्पराअनुसार आज कुष्माण्डाको पालो परेको हो।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन उनको विशेष पूजा हुन्छ। दसैँ सुरु भएदेखि नै मन्दिरहरूमा भक्तजनको बाक्लो भीड लागेको छ, जुन आज पनि कायम छ।
काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ तथा मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको चहलपहल बाक्लो छ। गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी र इन्द्रायणी लगायतका मुख्य मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ।
उपत्यकाबाहिर पनि आस्थाका केन्द्रहरूमा भक्तजनको ओइरो लागेको देखिन्छ। धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी र डोटीको शैलेश्वरीलगायत देशभरका प्रमुख शक्तिपीठहरूमा आज पनि दर्शनार्थीको लाम देख्न सकिन्छ।
नवरात्रभर घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतसहित देवीका अन्य स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको विशेष आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
यही आस्थाका कारण वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा गर्दछन्।
दुर्गा पक्षका रूपमा चिनिने दसैँमा हरेक दिन फरक-फरक देवीको पूजा हुन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिएपछि आज चौथो दिन कुष्माण्डा देवीको आराधना हुँदैछ।
त्यसैगरी, पञ्चमीमा स्कन्दमाता, षष्ठीमा कात्यायनी, सप्तमीमा कालरात्रि, अष्टमीमा महागौरी र नवमीमा सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यिनै नौवटा देवीका स्वरूपलाई सामूहिक रूपमा ‘नवदुर्गा’ भनिन्छ।
दसैँको अवसर पारेर उपत्यकाका मन्दिरहरू सिङ्गारिएका छन्। नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा र नरदेवी लगायतका मठमन्दिरहरूलाई रङ्गीचङ्गी बत्तीले सजाइएको छ।
यसबाहेक, उपत्यकाभित्रका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्तिहरू स्थापित छन्। यी तीन देवीलाई दिदीबहिनीका रूपमा मान्ने विशेष चलन पनि रहेको छ।





