बिहीबार रातिदेखि मौसममा चक्रवातको प्रभाव सुरु हुने अनुमान गरिएको छ। बंगालको खाडीमा रहेको अर्नव चक्रवात थप शक्तिशाली हुन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी छ।
मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२, १३ र १४ गतेसम्म कर्णाली प्रदेशका हिमाली जिल्लामा मौसम प्रभावित हुने देखिएको छ। पश्चिमी वायुको प्रभाव पनि यसमा सामेल छ।
हुम्लामा केही स्थानमा हावाहुरीसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। डोल्पासहित अन्य हिमाली क्षेत्रमा पनि उच्च सतर्कताको आवश्यकता महसुस गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। शुक्रबार र शनिबार देशका विभिन्न भूभागमा पनि वर्षा तथा हिमपातको प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान गरिएको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठकले कात्तिक १२, १३ र १४ गते उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा हुन सक्ने भन्दै जनतालाई सचेत रहन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय हुम्ला र डोल्पाले सम्भावित जोखिमको अवस्थामा जनताको सुरक्षा सुनिश्चित गर्न उच्च सतर्कता अपनाउन आह्वान गरेका छन्।





