आगामी पुसमा नेपालले पहिलोपटक आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला विश्वकप र कात्तिकदेखि सुरु हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) लाई लक्ष्य गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तीव्र पारेको छ। यी दुई ठूला प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणका कामहरू पनि सँगसँगै अघि बढाइएको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिएका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा मैदानलाई थप व्यवस्थित बनाउने काम अहिले भइरहेको उनको भनाइ छ। विशेषगरी, एनपिएलका अघिल्ला संस्करणहरूमा दर्शक व्यवस्थापन तथा अन्य प्राविधिक पक्षमा देखिएका समस्याहरू यसपटक नदोहोरियून् भन्नेमा क्यानले विशेष ध्यान दिएको छ।

उपाध्यक्ष सिंहले विगतका कमजोरीहरू सच्याएर दर्शकलाई सहज वातावरण दिन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले भने, “विगतमा जुन–जुन ठाउँमा त्रुटि भएको थियो त्यसलाई यसपटक सच्याउने प्रयास हामी गर्नेछौं। दर्शकलाई सुविधा दिने प्रयास गर्नेछौँ किनकि उनीहरूले पैसा तिरेर खेल हेर्नुहुन्छ।”

यसै सन्दर्भमा, दर्शकका लागि पार्किङदेखि अन्य आधारभूत व्यवस्थापनका कामलाई व्यवस्थित बनाउन लागिपरेको छ। यसमा 'बाइक स्ट्यान्ड' र सवारी पार्किङको उचित प्रबन्ध मिलाउने कार्यले प्राथमिकता पाएको छ। “दर्शकलाई अप्ठ्यारो कहाँ–कहाँ हुन्छ र त्यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा हामीले ध्यान केन्द्रित गरेका छौँ,” उनले थपे। एनपिएलका पहिलो र दोस्रो संस्करणका अनुभवबाट पाठ सिक्दै यसपटक मैदानमा कुनै पनि किसिमको त्रुटि नहोस् भन्नेमा क्यान सचेत देखिन्छ।

यु–१९ महिला विश्वकपका खेलहरू टियु र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। मूलपानीको तुलनामा टियु मैदानमा बढी खेल खेलाइने उपाध्यक्ष सिंहले जानकारी दिए। प्रतियोगितालाई लक्षित गरी मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी), एसियाली क्रिकेट परिषद् (एसिसी) र खेलाडीका अभिभावकका लागि भिआइपी संरचना निर्माण भइरहेको छ।