एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले आज ओमानको सामना गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुने यो खेलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा तीन खेल जितेर नेपाल सेमिफाइनलमा पुगेको हो। बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरे पनि हङकङसँग भने टोलीले हार व्यहोरेको थियो। समग्रमा समूह चरणको नतिजा सन्तोषजनक रहे पनि ब्याटिङमा भने अपेक्षित सुधार देखिन नसकेको क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउँछन्।
“नेपालले समूह चरणमा आशा गरेअनुसार ब्याटिङ गर्न सकेको थिएन,” तिमिल्सिना भन्छन्, “टोलीले त्यसमा सुधार गर्दै सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्नुपर्छ।” यसकारण, ओमानविरुद्धको खेलमा ब्याटिङ नै नेपालका लागि मुख्य चुनौतीका रूपमा रहनेछ।
नेपाल र ओमानबीच एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा हालसम्म १० पटक भेट भएको छ। यसमध्ये नेपालले चार खेल जितेको छ भने ओमानले ६ खेलमा बाजी मारेको इतिहास छ।
पछिल्लोपटक गत मे महिनामा आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा यी दुई टोली भिडेका थिए। उक्त खेलमा नेपालले ओमानलाई ८१ रनको सानदार अन्तरले पराजित गरेको थियो। आज पनि सोही लयलाई निरन्तरता दिँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने दाउमा नेपाली टोली छ।




