रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीले साँझ ५ः४५ बजेसम्म ७० जनाको ज्यान लिएको पुष्टि भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार, फेला परेका शवमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका र ५ बालक छन्। यसबाहेक, २० जनाको भने अझै पहिचान खुल्न सकेको छैन।
बाढीले बगाएका शव विभिन्न जिल्लामा भेटिएका छन्। रसुवामा एक पुरुषको शव फेला परेको छ भने नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ।
धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव भेटिएको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनाको शव फेला परेको छ।


प्रहरीका अनुसार, तनहुँमा ३ पुरुष, १ बालिका र १ बालकको शव भेटिएको छ। नवलपरासीपूर्वमा भने ८ पुरुष र ३ बालिकाको शव फेला परेको छ।
बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जनाको उपचार भइरहेको छ। यसैगरी, नर्भिक अस्पतालमा ३ र ग्रीनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, बाढीले बगाएर केही प्रहरी कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। टिमुरेबाट १०, रसुवागढीबाट, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २ जना प्रहरीको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।




